भोट बटुल्न एमालेले नागरिकता सम्बन्धि गलत प्रचार गरेको छ `प्रचण्ड ´ ।

काठमाडौ, ०८ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे गलत ढंगले गलत उद्देश्यका लागि प्रचार गरिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् ।
वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित चितवन पुगेका दाहालले विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय मात्र नयाँ भएको बताए । उनले भने, ‘यो विधेयकको सारतत्व भनेको आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय हो । ६/७ लाख युवाहरू नागरिकता नहुँदा सबै अवसरबाट वञ्चित थिए । यसलाई राष्ट्रघाती भन्नु पाखण्ड हो ।’ अध्यक्ष दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको बताए । ‘ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिक केही हुँदैन,’ उनले भने । राज्यव्यवस्था तथा सुशासन समितिको प्रस्ताव सदनमा लैजान पनि तत्कालीन नेकपाका अध्यक्ष ओली र एमाले गुटले नै नमानेको दाहालको आरोप छ। एमालेले चुनावलाई हेरेर गलत प्रचार गरेको पनि दाहालले बताए । ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन्,’ उनले भने ।




