
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो। विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालका अनुसार प्राज्ञिक परिषद्ले यस विषयमा निर्णय गरिसकेको छ। सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइने उहाँले जानकारी दिनुभयो। मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने छ।
