काठमाडौं, ११ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले माग अनुसार पूर्ण सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग गरेको छ। परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३४ हजार ७ सय ३० मा २ हजार थप गरी ३६ हजार ७ सय ३० र विद्यालय सहोगीहरुका लागि २४ हजार २ सय १० मा २ हजार थप गरी गरी २६ हजार २ सय १० गरिनुपर्ने माग गरेको छ ।आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषद्ले यस्तो माग अघि सारेको हो ।
परिषद्ले संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुय्राई स्वतः स्थायी प्रक्रियामा लगिनु पर्ने पनि माग गरेको छ ।
त्यसै गरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविछिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रवन्धन गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलति कानूनबमोजिम शिक्षकसरहको सेवा सुविधा उपलब्ध गराई उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तती वृत्ति आदिको प्रवन्ध गरिनु पर्ने र विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुुपर्ने पनि परिषद्का अन्य माग रहेका छन् ।
आर्थिक वर्ष २०७९/ ०८० को बजेट वक्तव्यमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने बजेट वक्तव्यले विद्यालय कर्मचारीहरु मध्येका विद्यालय सहायक लेखापालहरुलाई मानमर्दन हुनेखालको गतिविधि भएको परिषद्को आरोप छ ।परिषद्ले माग पूरा गराउनको लागि मुलुकभरिका सम्पूर्ण शिक्षक, संघ तथा संगठनहरु, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षक, बुद्धिजिवी, शिक्षाप्रेमी, समाजसेवी, जनप्रतिनिधिका साथै सबै सरोकारवालाहरुलाई काठमाडौं जाऔं आन्दोलनमा सफल पार्न भनी अपिल गरेको छ।



