गत चैत ५ गते साँझ बागलुङदेखि काठमाडौँ आउँदैगरेको बस निसिखोलामा दुर्घटना हुँदा नौ जनाको ज्यान गयो । २६ जना घाइते भए । फागुन २३ गते धादिङको गजुरी–२ चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठ जनाको मृत्युभयो । आठ जना घाइते भए । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो साढे पाँच वर्षमा १५ हजारको ज्यान गएको छ ।
प्रहरीको तथ्याङ्कले नेपालमा सडक यात्राको सुरक्षामा प्रश्नचिन्ह खडा गरेको छ । बर्सेनि दुई हजार बढीले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म एक हजार ५४७ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यो अवधिमा २४ हजार ६६८ सवारी दुर्घटनामा परेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा सवारी दुर्घटनामा परी दुई हजार ३६८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सो अवधिमा ३७ हजार ३९२ सवारी दुर्घटनामा परेका थिए ।
आर्थिक वर्ष २०७५–७६ मा सवारी दुर्घटनामा परी दुई हजार ७८९ को मृत्यु भएको थियो । सो अवधिमा १३ हजार ३६६ सवारी दुर्घटनामा परेका थिए ।
आर्थिक वर्ष २०७७–७८ मा सवारी दुर्घटनामा परी दुई हजार ५०० को मृत्यु भएको थियो । सो अवधिमा २० हजार ६४० सवारी दुर्घटनामा परेका थिए ।




