समाज

दसैं आए लगत्तै चामल बिक्रीवितरण बन्द ।

हुम्ला , ११ असोज ।
दसैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत दरमा चामल बिक्रीवितरण गर्दा गोदाममा ७० क्विन्टल मात्र चामल मौज्दात छ । कम्पनीले सुपथ पसलबाट ७ दिनसम्म चामल वितरण गर्दा सकिएपछि आइतबारबाट चामल बिक्री वितरण बन्द गरिएको हो । मौज्दात रहेको ७० क्विन्टल चामल आपत्कालीन अवस्थाका लागि राखिएको छ ।

सिमकोट गाउँपालिकाका ८ वटै वडाका स्थानीय, कर्मचारी र जन्म–मृत्यु संस्कारका लागि कम्पनीले सुपथ मूल्य पसलबाट चामल वितरण गरेको थियो । केन्द्रीय कार्यालयको निर्देशनबमोजिम सुपथ मूल्य पसल सञ्चालन गरिएको कम्पनीका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनका अनुसार एक साताको अवधिमा २ हजार ९० क्विन्टल चामल बिक्री भएको छ ।

यसअघि गोदाममा २ हजार १ सय ६० क्विन्टल चामल मौज्दात थियो । समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात रहेको चामल दसैंलाई लक्षित गरीे सहुलियत दरमा बिक्री वितरण गरिएको उनले बताए । कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने जनाएको छ । सोमबार चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट–६ की पार्वती रोकायाले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन् । ‘दसैंको बेला नै चामल छैन,’ उनले भनिन्, ‘चामल नभएपछि दसैं मनाउनै मुस्किल हुने भयो ।’ जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् ।

सिमकोट शाखाका लागि गत आर्थिक वर्षको १ हजार ६ सय क्विन्टल चामल ढुवानी हुन बाँकी छ । चालु आर्थिक वर्षका लागि चामल ढुवानीको ठेक्का स्वीकृत भएको छैन । डेढ महिनाअघि हवाईमार्गबाट ढुवानी गर्ने गरी ठेक्का आह्वान गरिए पनि एयरलाइन्सहरूले जिल्ला दररेटभन्दा बढी दररेट पेस गरेकाले पुनः ठेक्का गर्नुपर्ने अवस्था आएको शाखा प्रमुख अधिकारीले बताए । उनका अनुसार जिल्ला दररेटअनुसार सुर्खेतबाट प्रतिकिलो १ सय ४० र नेपालगन्जबाट १ सय ५० रुपैयाँ हवाई ढुवानी भाडा तोकिएकोमा एयरलाइन्सहरूले नेपालगन्जबाट २ सय र सुर्खेतबाट १ सय ९० रुपैयाँ दररेट पेस गरेका छन् । चालु आर्थिक वर्षका लागि हुम्लामा २० हजार ५ सय क्विन्टल चामल स्वीकृत भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । चाडपर्वको समय भएकाले ढुवानी व्यवस्था छिटो मिलाउन कम्पनीको केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

श्रोत:- कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button