
बाँके, ३० साउन ।
नेपालगञ्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा उपचारत कोरोना संक्रमित मध्ये अधिकांशले कोरोना विरुद्धको खोप नलगाएको पाईएको छ । उक्त अस्पतालको वार्डमा २ जना बाँके, २ जना बर्दिया र १ जना सुर्खेतका गरी ५ जना संक्रमितहरु भेरी अस्पतालको कोभिड वार्डमा उपचारत रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।
सोमबार अस्पतालमा २३ जनाको पिसिआर जाँच गर्दा ५ जनामा कोरोना भाईरस पुष्टि भएको फोकल पर्सन वलीले बताए । संक्रमित ५ जना मधय ४ जना महिला र १ जना पुरुष रहेका छन् । फेलक पर्सन वलीका अनुसार बाँकेमा ८१ जना सकृय संक्रमित रहेका छन् । यसका साथै ७६ जनाले होम आइसोलेसनमा आफुलाई राखेको वलीले बताए । योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २ सय ७७ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या २० हजार ८ सय ४३ पुगेको वलीले बताए ।
योपनि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । नेपालमा चौथो लहर सुरुवात भएपछि मृत्यु हुनेको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको हो । तेस्रो लहरमा २४ वैशाख २०७९ मा मृत्यु भएपछि कोरोना संक्रमणबाट १ साउनमा पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसयता दैनिक एक–दुई जनाको मृत्यु हुँदै आएको छ भने गत २६ गते एकैदिन पाँच जनाले ज्यान गुमाएका थिए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार साउनयता ३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश खोप नलगाएका र दीर्घ रोगी रहेका मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ । खोप लगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकता अनुसार कोरोनाविरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले अपिल समेत गरेको छ ।
कोरोना संक्रमित भएका ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर, खोप नलगाएका मानिस गम्भीर बिरामी पर्ने वा मृत्यु हुने सम्भावना खोप लगाएका मानिसको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको जिकिर छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन खोप लगाउने, नाक मुख छोपिने गरी मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्ने, झ्याल सधैं खुल्ला राख्ने, बेला–बेला साबुन पानीले मिचिमिचि हात धुन मन्त्रालयले अपिल गरेको छ ।
श्रोत:- एजेन्सी ।



