क्यान्सर रोगबाट पीडित नेपाली कांग्रेसका नेता प्रदिप गिरीको ७४ वर्षको उमेरमा आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। नेता गिरीको निधन भएको कुरा उनका सहयोगी मन्दिप भारतीले राससलाई बताए ।
केही समय पहिले भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका कोखबाट प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो। उनी समाजवादी चिन्तक तथा नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए। उनी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय रहेका थिए। २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका गिरी हाल: प्रतिनिधिसभा सदस्य समेत रहेका थिए।



