
कोहलपुर, १३ भदौ ।
कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा उद्घाटन गरिएको छ । जिल्लाका तीन स्थानीय तहलाई लक्षित गरी कोहलपुरमा नापी र मालपोत कार्यालयको शाखा कार्यालय उद्घाटन गरिएको हो । दुईवटा कार्यालयको कार्यक्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ र राप्ती सोनारी गाउँपालिका हुनेछ ।
आइतबार नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालय उद्घाटन गरेकी थिइन् । योसँगै लामो समयदेखि कोहलपुरमा नापी र मालपोत कार्यालयको शाखा स्थापना गर्ने यहाँका सरोकारवालाहरुको प्रयास सफल भएको हो । नापी र मालपोत जस्ता महत्वपूर्ण सेवा लिन नेपालगन्ज जाने बाध्यता हट्ने भएको छ । मन्त्री श्रेष्ठले बाँकेका तीन वटा स्थानीय तहका नागरिकलाई सहज र सरल सेवा प्रवाहका लागि स्थापना गरिएको बताइन् ।
‘लामो समय भूमिसँग जोडेर राजनीति भयो । हामी त्यसो गर्दैनौ । हामीले पक्का लालपूर्जा दिएका छौँ । शुसासन कायम गर्ने हाम्रो लक्ष्य हो ।’ मन्त्री श्रेष्ठले भनिन् । आफू बादी, कमलरी तथा भूमिहीनहरुको खुसी लागि तत्पर रहेको बताइन् । सम्पत्तिमा महिलालाई प्राथमिकता दिइएको उनको भनाइ छ । उक्त अवसरमा बोल्दै नेपाल सरकार युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराज (अथक)ले कोहलपुरमा मालपोत र नापी कार्यालय उद्घाटन हुनु खुसीको क्षण भएको बताए ।
उनका अनुसार अब तीन पालिकाका नागरिक सेवाका लागि नेपालगन्ज जानु पर्ने दिनको अन्त्य हुने भएको छ । ‘सेवाको लागि दुरी घटेको छ । समय बच्ने भएको छ । भाडा बच्ने भएको छ ,’ मन्त्री अथकले भने, ‘यो कार्यालय तत्काल सञ्चालन हुन्छ । ढलासुस्ती हुँदैन । यो सबैको प्रतिफल हो । महत्त्वपूर्ण उपलब्धि हो ।’
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णा कुमारी सुवेदी कार्यालय उद्घाटन हुँदा गाउँ–गाउँमा सिंहदरबार आएको अनुभूति भएको बताइन् । कार्यालय उद्घाटन हुनु सबै संयुक्त प्रयासको प्रतिफल भएको उनले बताइन् । उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाका लागि भूमिका खेल्ने सम्पूर्ण राजनीतिक दललाई धन्यवाद व्यक्त गरे ।
तत्काल पुरानो संरचनामा सेवा प्रवाह हुने र छिटो भन्दा छिटो सेवा प्रवाह हुने उनले बताएका थिए । उक्त समारोहमा नापी विभाग महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्वर घिमिरे र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




