कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन हुने भएको छ।
उक्त अस्पतालका निर्देशक डा. प्रमोद जोशीले कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन्। उनका अनुसार जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने भएको हो। ११ जना विशेषज्ञ चिकित्सकसहित कार्तिक १ देखि सेवा सुरु भए पनि सेवा विस्तार हुँदै जाने र आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने कुरा डा. जोशीले बताए ।
मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको 29 वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको हो। सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि मात्र गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।



