
न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ।
न्यायपरिषद संवैधानिक निकाय हो। न्यायपरिषदका प्रमुख प्रधानन्यायाधीश हुने व्यवस्था छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। न्यायपरिषद्को सिफारिसमा न्यायपरिषद्का अध्यक्षले न्यायाधीशलाई बर्खास्त गर्न सक्ने व्यवस्था छ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश अधिकारीको कार्यक्षमतामा प्रश्न उठाउँदै बर्खास्ती गर्ने निर्णय भएको हो। न्यायाधीश अधिकारीमाथि उजुरी परेको र परिषद्ले छानबिन गर्दा गलत रूपमा न्याय सम्पादन गरेको भेटिएको थियो ।
कार्यक्षमतामा अभाव र खराब आचरणको विषयमा उनलाई सुनुवाइको मौकासमेत दिइएको बताइएको छ । उनको जवाफ सन्तोषजनक नपाएपछि परिषद्ले बर्खास्तीको निर्णय गरेको प्रवक्ता कार्कीले बताए। यसअघि पनि परिषद्को सिफारिसमा पाँचजना न्यायाधीश पदमुक्त भइसकेका छन्। स्रोत रिपोर्टर्स नेपाल



