
काठमाडौँ, २१ भदौ ।
राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न संघ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।
उनले, कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापी रुपमा फैलिँदै गइरहेको डेङ्गु रोगको कारण नागरिकको स्वास्थ्यमा पर्न गएको समस्याको तत्काल नियन्त्रण नगरे भैवाह अवस्था लिने सक्ने भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आयोगको अनुसार बिरामीहरुको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन जोखिममा पर्न सक्छ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको विज्ञाप्तीमा उल्लेख छ ।
डेङ्गु सङ्क्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गु सङ्क्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारलाई आग्रह गरेको छ ।