डिफेन्डर एन्डर्सनलाई मार्ने धम्की ।

काठमाडौँ, ०१ भदौ ।
इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका डिफेन्डर जोआचिम एन्डरसनले आफू र आफ्नो परिवारलाई मार्ने धम्की आएको बताएका छन् । लिभरपुलका समर्थकहरुले एन्डरसनको इन्टाग्राममा उनीसँगै उनको परिवारलाई मार्ने धम्की दिएको रोयटर्सले जनाएको छ ।
लिग अन्तर्गतको खेलका क्रममा लिभरपुलका डार्विन नुनेजसँग टाउको जुधेपछि नुनेजले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । रातो कार्डका कारण नुनेजले तीन खेल गुमाउने भएका छन् ।लिभरपुलले नयाँ खेलाडीको रुपमा भित्र्याएको नुनेजले रातो कार्ड खाएको खेलमा क्रिस्टल प्यालेस र लिभरपुलले १-१ गोलको बराबरी खेलेको थियो । जसका कारण लिभरपुल लगातार दुई खेलमा जितविहिन बन्यो ।
एन्डरसनले बताए अनुसार उनले ३ सय देखि ४ सय वटा धम्कीपूर्ण सन्देश प्राप्त गरेका थिए । उनले यसबारे इन्टाग्राम र प्रिमियर लिगले केही गर्ने अपेक्षा रहेको बताए ।




