सुरक्षा दिए पाकिस्तानी ब्यापारीले लगानी गर्ने ।

पोखरा, १८ भदौ ।
पाकिस्तानका राजदूत सैयद हैदर साहले पाकिस्तानी लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन् नेपालमा सुरक्षा प्रणालीलाई अझै प्रभावकारी बनाइयो भने पाकिस्तानी ब्यापारीहरुले नेपालमा लगानी गर्नेछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसँग शुक्रबार भएको भेटपछि नागरिककर्मीसँग कुरा गर्दै उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएको छन् ।
गण्डकी प्रदेशले सुरु गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र सम्भावित लगानीको सम्भावनाबारे शाहलाई प्रश्न गरिएको थियो । उनले जवाफमा भने, ‘नेपाल सरकारले लगानीको वातावरण बनाउनुपर्छ । जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षा र नाफाको ग्यारेन्टी खोज्छ । नेपाल सरकारले यस्तो वातावरण उपलब्ध गराए पाकिस्तानी लगानीकर्ता पनि यहाँ लगानी गर्न तयार छन्।’
राजदूत साहले पाकिस्तान र गण्डकी सरकारले शिक्षा, पर्यटन र जलवायु परिवर्तनमा मिलेर काम गर्न सक्ने बताए। उनले पर्यटकीय राजधानी पोखरा र पाकिस्तानले सहकार्य गर्ने हो भने पर्यटनमा अथाह सम्भावना रहेको उल्लेख गरे। त्यसका लागि प्रदेश सरकार र मुख्यमन्त्री सकारात्मक पाएको उनले बताए।




