राजनीतिविचारसमाज

टोल टोलमा प्रचण्डको सालिक बनाएर पुजा गर्ने दिन आउँछ `पुन´।

बाँके, ३१ साउन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन्।

१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा मंगलबार आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको सालिकमा पूजा गर्ने दिन आउने दाबी गरे।

प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए।
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक-पटक आफूहरू राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उल्लेख गरे। पूर्वराष्ट्रपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्‍याएको बताउने गरेको उनले सुनाए।

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए।

महिलाको नाममा धनी पुर्जाको नीतिले छोरीहरू सम्पत्तिको मालिक भएको, अंश र वंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ता उपलब्धि माओवादीकै कारण आएको उनले चर्चा गरे। माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको उनले भन्दै आपत्ति जनाए।
‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो,’ उनले भने, ‘अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ। तर, समाज रूपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोकचोकमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ।’

पुनले माओवादी आन्दोलनका उपलब्धी स्वरूप विभिन्न पदमा पुगेका मानिसहरूले नै माओवादीले आतंक मच्चाएको आरोप लगाउन नसुहाउने उनले बताए।

पुनले दोरम्बा घटना मानवताविरूद्धको अपराध भएकाले संक्रमणकालीन कानून बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे। सरकार-माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button