काठमाडौ , २९ असोज ।
गण्डकी प्रदेशले दोस्रो पटक खेलकुद आयोजना गर्न लागेको हो । ३६ इभेन्टमा ३ सय ९३ स्वर्ण पदकका लागि ३ हजार ४ सय ६ पुरुष र २ हजार ६ सय ९६ महिला गरी ६ हजार १ सय २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
पोखरा रंगशालामा शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले देशको ठूलो खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनको घोषणा गर्दै नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको छ ।
साढे तीन घण्टाभन्दा बढी चलेको उद्घाटन समारोहमा करिब आधा घण्टा लामो मन्तव्यपछि पुनले नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन घोषणा गर्छु ।
पुनका अलावा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायत उच्च पदस्थ अधिकारीले पनि लामो मन्तव्य दिएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि मन्तव्य राखेका थिए । खेलमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रतिस्पर्धा गर्दैछन् ।
‘एकीकृत देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ आयोजना हुने उक्त खेलमा ६ हजार १०२ खेलाडीले सहभागिता जनाउने छन् । खेलाडीले ३६ विभिन्न इभेन्टमा जम्मा ३ सय ९३ स्वर्ण र रजत तथा ६ सय कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
गण्डकीका ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक काल्ड्रन प्रज्वलन गरेका थिए भने युवा तथा खेलकुद मन्त्री गहतराजले राष्ट्रिय झण्डा फहराएका थिए ।
उद्घाटन समारोहमा आतिशबाजी, सांस्कृतिक कार्यक्रम, नृत्य र गीत पनि प्रस्तुत गरिएको थियो । करिब चार दशकपछि रंगशालामा भएको खेलमा सहभागी ११ टोलीले मार्चपास गरेका थिए । पोखराले सन् १९८४ मा खेलको अन्तिम संस्करण आयोजना गरेको थियो ।